आफू जन्मे हुर्केको घर जस्तोसुकै भएपनि स्वर्गतुल्य हुन्छ भन्ने कुरामा कसैको बिमति नहोला । आफू जन्मेहुर्केको घरमा सबै कुराको उपलब्धि हुन्छ भन्ने पुरानो विश्वास अझैपनि धेरैजसो नेपालीमा कायमै छ । ऐश,आराम, माया, ममता, स्नेह, सुख, शान्ति, चाहिएको खाने, लाउने र हरेक आवश्यकताको समय र परिस्थिति अनुसार परिपूर्ति हुन्छ भनिन्छ । बालबालिकालाई राम्रो वा नराम्रो बनाउनमा बाआमाको नै बढी भूमिका रहन्छ । गरीब होस् वा धनी असल संस्कार पायो भने त्यो बच्चा साँचिकै विश्वेश्वरप्रसाद कोईरालाले भनेझै ठूलो नभएर असल बन्न पुग्दछ । सबैका बाआमाले साथ दिइरहन्छन् भन्ने प्रत्याभूति पनि त कसैले दिन सक्दैन । हो त्यसो भए बा आमाको छत्रछाँयामा बस्ने अवसर नपाउनेले चै के गर्ने - धनीमानी र सम्पन्न परिवारको भए कुनै खर्चिलो होस्टेलमा राखि दिए भै हाल्यो । होस्टेल संचालकले सबै जिम्मा लिने आश्वासन दिई हाल्छन् । टुहुरा, असहाय, द्वन्दपीडित र बाबुआमाको बिपन्नताका कारण एक्लिएका बालबालिकाका लागि त जिम्मेवारीपूवक हेरचाह गर्ने निकायको अभाव भएको लगभग सबैलाइ स्पष्ट छ । धेरै त्यो क्षेत्रमा काम गर्ने सरकारी एवं गैरसरकारी निकायले यो यथार्थतालाई स्वीकारीसकेको अवस्था छ । त्यसो भए तिनीहरु कहाँ बस्ने - कसले रेखदेख गर्ने - यस्ता धेरै प्रश्नहरु उठ्छ् । प्रश्न उठाउनेहरुको खाँचो छैन । हामी पनि त्यस्ता समूहबाट अछूतो नहौंला ।
यस्ता बालबालिकाका लागि भनेर खुलेका बालगृहहरु धेरै संख्यामा देशभर छरिएका छन् । यस्तै बालगृहमा बस्ने भन्ने सबैको सल्लाह हुन सक्छ । तर नेपालका अधिकांश बालगृहहरु धेरै व्यक्तिहरुका रकम संकलन गर्ने माध्यम बनेका छन् । असी प्रतिशत भन्दा बढी बालगृहहरुमा न्यूनतम् आवश्यकता पनि पूरा भएको छैन भन्ने कुरो त बिगतका धेरै सरकारी तथा गैरसरकारी प्रतिवेदनले देखाइसकेको छ । यस्तो हुँदाहुँदै पनि बालबालिकाहरु कुपोषणको शिकार भई त्यस्तै बालगृहमा बस्न बाध्य छन् । प्रतिवेदन, प्रतिज्ञा र प्रतिबद्धता यी तीन प्र ले सबै कुराको काम तमाम भएको घोषणा गरिहाल्छ । कार्यान्वयन र सम्बन्धित पक्षको उत्थान भने फाइलमा राम्रोसँग गुणस्तरीय कागतमा भै हाल्छ ।
नेपालमा अहिले बाबुआमाको प्रत्यक्ष निगरानी बिभिन्न कारणले हुन नपाएका बालबालिका धेरै मात्रामा छन् । बाबुआमाबाट टाढिनुका कारणहरुमध्ये बाबुआमा बिदेशमा बस्नु, जागिरको सरुवा भै रहनु, बाबुआमाबीचको सम्बन्ध नराम्रो हुनु, बाबुआमा बेपत्ता हुनु, बाबुआमाको अकालै मृत्यु हुनु आदि हुन् । घरमा बाबुआमा हुँदाहुँदै पनि आर्थिक विपन्नताका कारणले बालबालिकाले उचित सुविधाहरु भोग गर्न नपाउनु स्वभाविक नै मान्दा फरक पर्छ जस्तो मलाई लाग्दैन । तर यस्तो बिपन्नताको फाइदा उठाइ पढाइ हुर्काइ गरिदिने निहुँमा शोषण गर्नु चै दुर्भाग्यपूर्ण हो । यो लेख विषेश गरेर वास्तवमा सहयोग चाहिने बालबालिका र त्यो आवश्यकतालाई परिपूर्ति गरिदिने संस्थाको सेरोफेरोमा केन्द्रित छ ।
बाबु आमाको माया स्नेह र ममता पायो भने कुनैपनि बालक क्रूर हुनबाट टाढा रहन्छ भन्ने कुरा बिभिन्न तथ्याङ्कले देखाएको छ । यस्ता धेरै अनुसन्धानका तथ्याङ्कले टुहुरो बालक अपबादको रुपमा मात्रै चारित्रिक रुपमा राम्रो भएको बताउँछ । यस्ता तथ्याङ्क बिपरीत धेरै बालबालिकाहरु सामुहिक रुपमा अनुशासित, भद्र, असल, ज्ञानी, चरित्रवान, समाजिक आदि गुणयुक्त भए भने के सबै छक्क नपर्लान् – बालगृह पनि आफू जन्मे हुर्केको घर भन्दा आनन्ददायी र असल हुन्छ भन्दा जो कोहिलेपनि सहजै स्वीकार्न अप्ठेरो मान्छ । तर यस्ता भयानक स्थितिका बाबजुद पनि मध्य बानेश्वरस्थित मलाई नबिर्सिउँ बालगृहका बालिकाहरु सौभाग्यशाली भएको मैले पाएँ । उनीहरुले जन्माउने आमा नभएपनि हुर्काउने असल आमा चै पाएका छन् ।
नेपाली बालबालिका धेरै मात्रामा द्वन्दको प्रभावले एक्लिन बाध्य भए । द्वन्दकै कारण दुख पाएका बालिकाहरु भेला पारेर मलाई नबिर्सिउँ बालगृहले अत्यन्त राम्रो सेवा दिई राखेको छ। यस्ता सराहनीय काम गर्ने सबैलाई प्रसंशा हर्दिकरुपमा नै गर्नुपर्दछ।
यसमा सबै भन्दा राम्रो पक्ष भनेको सरसफाइ । मलाई नबिर्सिउँ बालगृहले सरसफाइलाइ प्राथमिकताकासाथ स्थान दिएको छ । त्यँहा बस्ने हरेक बालिकालाई सरसफाइ जीवनको एउटा महत्वपूर्ण हिस्सा हो भन्ने छाप परिसकेको छ । म त्यँहा पुग्नासाथ चप्पलको मिलाएर राखेको ताँति देख्ता प्रेरित भई हालें । सोध्न मन लागेर एउटी बालिकालाई सोधें, "यो कसले मिलाएको ? उनको सरल उत्तर थियो, "हामीले"।
अझ उत्सुक भएर फेरि सोधें, "अनि कसले सिकाएको ?"
"आफैले, ममीले मिलाएको देखेर"।
त्यहाँ बस्ने सबै बालिकाले एकअर्कामा साइनो लगाएर बोल्दा रहेछन । उनीहरुका ममीहरु धेरै रहेछन् । उनीहरुलाइ आफूले जन्माएको बच्चा जस्तै गरेर व्यवहार गर्दा रहेछन् । त्याँहा बस्ने सबै भन्दा ठूली बालिका भनेको छ कक्षामा पढने रहिछन् । उनीलाई सबैले दिदी भनी पुकार्दा रहेछन् । दिदीले सबैलाई पढाउने देखि लिएर स्कुल लान ल्याउनसम्म सहयोग गर्दा आफैलाई सन्तुष्टि भएको कुरा व्यक्त गर्दा म त भावुक हुन पुगें । ती सबै बालिकालाई एउटै स्कुलमा पढाउँदा धेरै सजिलो भएको कुरा एउटी बालिकाकै मुखबाट सुन्न पाएँ ।
तिनीहरु कसरी त्यस्ता दार्शनिक कुरा गर्न सक्ने भए भन्ने कुराले उत्सुक भएर सबै कुराको जानकारी लिने जमर्को गरें । उनीहरुलाई समय समयमा भजन कीर्तनमा सामेल गराईंदो रहेछ । नियमित पूजा गर्नाले एउटा हौसलाको माहोल बन्दो रहेछ । सबै धूप जलाउन तम्सिँदा अभिभावकलाई कैले काहि झर्को लाग्नु पर्ने हो तर त्यस्तो अनुभव नै नहुने बरु रमाइलो लाग्ने गरेको एकजना सबै भन्दा पुरानो अभिभावकले बताउनु भयो । बालबालिकाको स्तरबाट यती छिट्टै अध्यात्मिकता तिरको आस्थाले उनीहरुलाई भित्रैदेखि बलियो बनाउन मद्दत गरेको मैले पाएँ । यी कुराले त मलाई धेरै प्रेरणा मिल्यो । उनीहरुको सामाजिक परिवारको वातावरणले नै सबै कुरो सिकाएको कुरा खुलस्त भयो । तिनीहरुको सामुहिक जन्मदिन मनाईंदो रहेछ । कुनैपनि बालिकाको अनुहारमा मुस्कुराहट नभएको पाउन धेरै गाह्रो थियो । तिनीहरुले सकेसम्म गल्ती नगर्ने प्रण गरेका रहेछन् । गल्ती कतै भै हाल्यो भनेपनि र्सार्बजनिकरुपमा गल्ती भएको स्वीकार गर्ने चलन रहेछ । ठूलाबाट गल्ती भएमा अभिभावकहरुले समेत् सबैले देख्नेगरी माफी मागिँदो रहेछ । समय र परिस्थिति अनुसार भरसक आत्मनिर्भर हुन् कोशिस गर्दा रहेछन् । कक्षा एकदेखि माथिका बच्चीहरुले आ-आफ्ना कपी, किताब, कलम आदि ठूला दिदीहरुको सहयोगमा जतन गर्ने गर्दा रहेछन् ।
घर, बाबाआमा आदि सबै बिर्सेर बसेका ती बालिकाहरुले आफ्नो आश्रमको हार्दिक प्रसंशा गर्दा त मैले एकछिन् विश्वासै गर्न सकिन् । तर पछि भित्रै पसेर अवलोकन गर्दा साँच्चिकै शान्त, सुसज्जित, सरल अनि ठूलो र परिवार भएको यथार्थ अनुभूति गर्न मैले पाएँ । आत्मसन्तुष्टि नै जीवनको सबै भन्दा आवश्यक र सफलताको उच्च बिन्दु रहेछ भन्ने कुराको आत्मज्ञान मलाइ भयो ।
भित्तामा टाँसिएका धेरै चित्रहरुले त मलाई मन्त्रमूग्ध नै बनाइ दियो । ती सिर्जना सबै बालिकाहरुले छुट्टीका दिन सदुपयोग गरेर बनाएका रहेछन् । समयको सदुपयोग असाध्य राम्ररी गर्दा रहेछन् ती बालिकाहरु । चित्रकला, गायन, नृत्य, साहित्यिक सृजना आदिमा ती बालिकाहरु अत्यन्त निपूर्ण भएको कारण भने त्यो पारिवारिक वातावरणनै रहेछ । एउटीले सृजना गर्न थाल्दा अर्किलाई पनि प्रेरणा मिलेर सबै आ-आफ्नो रुचि अनुसार नियमित सृजना गर्न समय दिँदा रहेछन् । स्कुलमा पनि ती बालिकाहरुको नतिजा अत्यन्त राम्रो भएको कुरा उनीहरुकी एकजना आमाले बताउनु भयो । ती बालिकाहरुले राम्रो पढ्ने वातावरण र सामुहिक शिक्षा पाएको हुनाले देशका असल नागरिक बन्ने निश्चित छ । ती बालिकाहरुको काम अत्यन्त अनुशरणीय छ । त्यहाँका ममी, दिदी, संचालक, दातृ निकाय सबैले शिक्षाको नाममा ठूलो मानवीय सेवा गरेर धर्मलुट गरेका छन् ।
No comments:
Post a Comment