शनिबारको दिन म सधैभन्दा धेरै ढीलो उठेर आँखा मिच्तै छतमा चढछु अनि एउटा दृश्य देखेर एकटक्ले हेर्न थाल्छु । म अचम्मित हुन्छु, हातका रौं ठाडा हुन्छन्, अनुहार परिवर्तित हुन्छ, एकोहोरिन्छु, अनि बिस्तारै दुइ पाईला अघि सरेर त्यो अचम्मको दृश्यलाई आँखा नझिम्काई हेरिरहन्छु । त्यहाँ निमेषभरमै धेरै घटनाहरू अवलोकन गर्न पाउँछु । तर म दृश्यहरू अवलोकन गर्न पाउँदा पनि आन्नदित हुन सक्दिनँ । ती परिदृश्यहरूले मलाई आनन्दित बनाउनुको साटो बडो गम्भीर बनाएको थिया । अब सोच्नुहोस् त्यस्तो गम्भीर बनाउने दृश्य के होला ?
त्यो दृश्य थियो हाम्रो डेरादेखि पूर्वतिरको घरमा काम गर्न भनी राखिएको एउटा मैलो लुगा लगाएको रुन्चे अनुहारको बालक र छोटो कपाल भएकी अधबैंसे महिला बीचको दैनिक क्रियाकलापको । मेरो अडकलमा त्यो बालकको उमेर १०-१२ बर्षन्दा पक्कै धेरै होओइन । ऊ निरीह देखिन्छ । उसमा अन्तरनिहीत मूक इच्छा मेरा सामु फर्केर बोल्न चाहेको आभास मलाई सहजै हुन्छ । भारतीय लेखक मुल्कराज आनन्दद्वारा सृजित कूल्ली उपन्यासको पात्र मुन्नु जस्तै भएर उसका आकांक्षा चकनाचूर हुने कुरालाई कल्पिदा कल्पिदै म त त्यो एकांकी समाप्त भइन्जेलसम्म त्यही उभिरहेको रहेछु । अलि टाढा भएकोले आवाज मैले केही पनि सुन्न सकिन । केवल दृश्यलाई मात्र यहाँ प्रस्तुत गर्दैछु । नाटक सुरु हुँदा एउटा बालक कचौरामा केही बोकेर बाहिर आउँछ । बाहिर एउटा कुर्सीमा ढल्केर बसेकी आईमाइको छेउमा आएर उसले त्यो कचौरा बडो सावधानीपूर्वक त्यो अधबैंसे आईमाइको अगाडि राख्छ । सायद त्यो महिलाको मूड अफ थ्यो क्यार भयानक हाउभाउले त्यो कचौरा टिपेर उनले त्यो फुच्चेको टाउकोमा लक्षित गर्दै बजारिन् तर पवित्र भावको निरीह बालकलाई त्यो क्रुर आक्रमणले छुन सम्म छोएन । सायद बालकले कुरो नबुझेर गल्ती गरेको हुनुपछ । हतार हतार गरेर बालक फेरि भित्र पस्छ । एक मिनेट पछि ऊ एउटा झोलामा केही लिएर बाहिर निस्कन्छ । साहुनीले उसको हातबाट झोला तानेर खोतल्न थाल्छिन। उनले त्यो झोला नखोतल्दै भित्रबाट फूच्चेले ट्रेमा केही खानेकुरा लिएर आउँछ, अगाडि साहुनीलाई टक्र्žयाउँछ। अनि फेरि फटाफट भित्रपसेर एउटा पुरानो बाँटामा साग लिएर आउँछ अनि छेउमै राखिएको एउटा मुडामा बसेर केलाउन थाल्छ । फेरि साहुनीका कर्के आँखा त्यो बालक बसेको मुडातिर पुग्छन् उनले बाघलेझै झम्टेर हकार्दा बिचरा सिंहको अगाडि हरिण झैं हुन्छ, उसले मुडा छोडेर छतको पल्लो कुनामा बसेर साग केलाएको देखिन्छ । मुडा चै अरु कसैलाई बस्न राखिएको हुन सक्ने कुरा अनुमान लगाउन सकिन्छ ।
यो दृश्यले पक्कै पनि देशभरका सबै यस्ता बालबालिकाको प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्छ । अहिले नेपालमा बालबालिकाको जनसंख्या ५०.ं५ प्रतिशतको हाराहारीमा रहेका छन् । यसले के प्रष्ट हुन्छ भने भोलिका अधिकांश जनता असुरक्षित छन् । यो कुरा अहिलेको अनुमानित २० लाख ६० हजार बालमजदुरले प्रष्ट पार्छन् । २० लाख ६० हजारमध्ये आधि जसो त बाल्यकालमै अपाङ्ग हुन्छन् । रहेका सबै रोगी मजदुर पक्का छन् । यसको जिम्मा कसले लिने ?
कानुनी तवरमा त नेपालले धेरै बालअधिकार सम्बन्धि काम अगाडि बढाइसकेको छ । २० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसङ्घ महासभाद्वारा पारित बालअधिकार सम्बन्धी महासन्धीमा सहमति जनाए पछाडि कति उलड्घन भए सही तथ्यांक भए बताउला । अन्तराट्रिय महासन्धिमा सहमति मात्रै होइन, १४ सेप्टेम्बर १९९० मा हस्ताक्षरसमेत गरिसकेको छ ।
यो महासन्धिमा उल्लेख गरिएअनुसार सबै सम्बन्धितले काम कारबाही अघिबढाउनु पर्ने हो तर यो सम्पूर्ण कुरा सिद्घान्तको घेराभित्र थुनिन बाध्य भएको छ । युरोपेली मुलुकहरुमा सिद्धान्त एवं व्यवहारमा लागू हुन थालेको बर्षौ भइसकेको छ । विदेशीहरु आएर हाम्रा बालबालिकाको संरक्षण गरिदिए भनेर मख्ख पर्नु जस्तो ठूलो ब्यङग्य के हुन्छ - सधै बालअधिकारको वारेमा बक्बक् गर्ने नेतृत्वहरुको खाँचो छैन । देशको सर्वोच्च संस्थामा बस्ने पनि बालअधिकारका कुरा बारम्बार उठाइ रहेका हुन्छन् । राष्टिय्र र अन्तराट्रिय गैरसरकारी संस्था धेरै संख्यामा बालबालिकाका हकहितका लागि काम गर्ने नाममा देशभरै फैलिएका छन् । ती संस्थाहरुले कतिको भरपर्दो काम गरेका छन् अनुसन्धनीय छ । सरकारले सक्रियरुपले अनुगमन र नियमन नगर्ने हो भने गम्भीर खतराको संकेत माथि उल्लेख गरिएजस्ता घटनाहरुले गर्छन् ।
नेपालमा पहिलो पटक २०६३ को अन्तरिम संविधानले भाग १ को धारा २२ मा पाचवटा उपधारा राखी बालअधिकारको मौलिक हक र अधिकारको बारेमा उल्लेख गरेको छ । यसै भागको धारा २२ को उपधारा ३ मा "शोषणजन्य कार्य कानुनद्वारा दण्डनीय हुनेछ र त्यस्तो व्यवहार गरिएको व्यक्तिलाई कानुनले निर्धारण गरे बमोजिम क्षतिपूर्ति दिइने छ" भनी उल्लेख गरिएता पनि अहिलेसम्म पाइएका दोषीहरुलाई उचित कारवाही गरेको पाइदैन । कारवाही कतै भइहाल्यो भने पनि पुलिस र प्रशासन मिली अलिकति आर्थिक कारोबारमा मिल्छ । कानुन निर्माताकै घरहरुमा धेरै बालबालिका शोषित भएको तथ्य यथेष्ट मात्रामा पाइन्छ ।दिनैपिच्छे अखबार पढ्यो; कतै न कतै बालबालिकाको शोषण भएको भेटिन्थ्यो । हिजोआज पहिलेको अनुपातमा पत्रपत्रिकामा बालशोषणका घटनाहरु कम देखिन्छन् । पत्रपत्रिकाहरु हिजोआज राजनैतिक विषयमा बढी केन्द्रित भएर होला उनीहरुले यी घटनाहरुलाई समेट्न नसकेका । यति चाँडो बालशोषण हुन कमी भएको त नहुनु पर्ने हो, किनभने सोचको परिवर्तन हुन समय लाग्छ सोचकै कारण बालबालिकाहरु शोषित हुने हुन् ।
बालशोषण सम्बन्धी अध्ययन धेरै भएर पनि तिनका प्रतिवेदनमा माकुराले अन्डा पारिसक्यो होला । ती प्रतिवेदनहरुले गौरी प्रधान मार्काका अध्ययनकर्ताहरुलाई त पक्कै फाइदा पुर्žयाएकै छ । कारण पैसा पच्यो, अर्को चोटि अध्ययन गर्ने रकम आँउदा त्यो प्रतिवेदनलाई कपी पेस्ट गरे भइहाल्छ, स्थलगत र वस्तुगत अध्ययनको सत्य तथ्य विवरण आउन निकै गाह्रो होला जस्तो मलाई लाग्छ । यी सबै कामहरु बिग्रिएको सरकारी अनुगमनको कमीले हो । हिजोआज स्थलगत अनुगमनभन्दा टेलिफोनिक अध्ययन र अनुगमनमा बढी विश्वास गरिन्छ भन्ने जनगुनासाहरु यत्रतत्र सुन्न खाँचो हुँदैन ।
हरेक बालबालिकालाई सचेत गर्राई उनीहरुलाई शोषणविरुद्ध जुध्न सिकाई भित्रैबाट बलियो बनाउनु आवश्यक छ । गैरसरकारी संस्थाहरुले पैसा पचाउने काम मात्र नभएर साच्चिकै काम गर्नुपर्ने भएको छ । बालबालिकाको उत्थानको निमित्त सरकारले छुट्याएको रकम उचित काममा लगाउन बाध्य गराउने संयन्त्र सरकारले तयार पार्नु पर्छ । यस्तो संयन्त्र बनाउदा व्यक्तिगत धर्म पालना गर्न सक्ने मानिसलाई दायित्व दिनुपर्छ । त्यसो भए अरुलाई पनि कानुनको कठघरामा ल्याउन सजिलो हुन्छ । अन्जानमा शोषण गर्नेलाई पनि सचेत गराउने काम सबै नागरिकको हो, हरेक नागरिकले दायित्व वोध गर्नु अति आवश्यक छ ।
No comments:
Post a Comment